काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटका सन्दर्भमा आज सञ्चारकर्मीहरूसँग विशेष अन्तर्क्रिया गर्दैछन्. गत शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेपछि बजेटका नीति, प्राथमिकता र करका दरहरूबारे उठेका जिज्ञासाहरूलाई प्रष्ट पार्न अर्थमन्त्रालयले यस कार्यक्रमको आयोजना गरेको हो.
अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत यो अन्तर्क्रिया हुन लागेको हो. कार्यक्रममा अर्थमन्त्रीले बजेटका लक्ष्यहरू, कार्यान्वयनको खाका र विभिन्न क्षेत्रमा गरिएको कर हेरफेरका औचित्यबारे सञ्चारकर्मीहरूले राख्ने प्रश्नको प्रत्यक्ष जवाफ दिनेछन्.
सरकारले सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ. बजेट सार्वजनिक भएलगत्तै निजी क्षेत्र, आर्थिक क्षेत्रका विज्ञ र सञ्चार माध्यमहरूमा विभिन्न कोणबाट विमर्श भइरहेका बेला अर्थमन्त्री आफैँले यसको सन्तुलन र रणनीतिको प्रतिरक्षा गर्न लागेका हुन्.





