गण्डकी प्रदेशमा गुड्ने राइड सेयरिङको भाडादर निर्धारण: पेट्रोल र विद्युतीय सवारीलाई छुट्टाछुट्टै दर, छुट एपमै राख्नुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने दुई पाङ्ग्रे र चार पाङ्ग्रे राइड सेयरिङ सवारी साधनहरूको भाडादर निर्धारण गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पेट्रोल र विद्युतीय सवारी साधनका लागि छुट्टाछुट्टै भाडादर कायम गर्दै यात्रुलाई अनिवार्य छुटको व्यवस्था समेत गरेको छ। गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमावली पारित भएपछि यो भाडादर लागू गरिएको हो।

नयाँ निर्धारित भाडादर अनुसार पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ भने त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ कायम गरिएको छ। चार पाङ्ग्रेमा २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ लाग्नेछ र त्यसपछि दूरी अनुसार भाडा थपिँदै जानेछ। अर्कोतर्फ, दुई पाङ्ग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ र १ किलोमिटरसम्मको आधार भाडा ४६.८५ रुपैयाँ कायम गरिएको छ। १ किलोमिटरभन्दा बढी दूरीको हकमा प्रति किलोमिटर १६.८५ रुपैयाँका दरले भाडा लाग्ने मन्त्रालयले जनाएको छ।

सरकारले तोकेको भाडादरमा पेट्रोलबाट चल्ने सवारी साधनले १० प्रतिशत र विद्युतीय (इभी) सवारी साधनले १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था नियमावलीमै गरिएको छ। यो निर्धारित भाडा र छुटको विवरण राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश हुनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए। सरकारले तोकेको यो भाडा बाहेक यात्रुसँग अन्य कुनै पनि थप शुल्क लिन नपाइने व्यवस्था गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा