काठमाडौँ । देशको हिमाली तथा पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहँदा तराईका क्षेत्रमा भने अत्यधिक गर्मीको प्रकोप कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २४ गते आइतबार देशका विभिन्न भू-भागमा मौसमको मिश्रित प्रभाव देखिनेछ।
आइतबार दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। दिउँसोको समयमा कोशी प्रदेशका केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातको आकलन गरिए पनि तराई क्षेत्रमा भने गर्मीको कहर जारी रहनेछ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा ‘तातो दिन’ हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी, आइतबार राति कोशी प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली एवं पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




