पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव: आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण हाल देशभर साधारणतया बादल लागेको छ र केही स्थानमा मौसममा फेरबदल देखिन थालेको छ।

आज जेठ २८ गते बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने आकलन गरिएको छ।

आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। महाशाखाका अनुसार राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागहरू र कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम प्रभावित हुनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा