काठमाडौँ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण हाल देशभर साधारणतया बादल लागेको छ र केही स्थानमा मौसममा फेरबदल देखिन थालेको छ।
आज जेठ २८ गते बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने आकलन गरिएको छ।
आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। महाशाखाका अनुसार राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागहरू र कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम प्रभावित हुनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।




