काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने देखिन्छ।
मौसमविद्हरूका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। तराईतर्फ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यद्यपि, पश्चिम नेपालका केही क्षेत्रमा गर्मीको प्रकोप कायमै रहनेछ; सुदूरपश्चिम प्रदेशको तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहर (लू) चल्ने सम्भावना छ।
रातिको समयमा देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र कर्णाली एवं सुदूरपश्चिमको पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै राति कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।





