चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टी अब झनै परिपक्व, सङ्गठित र जिम्मेवार ढङ्गले देशकै प्रमुख शक्तिका रूपमा अगाडि बढ्ने बताएका छन्। चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै उनले महाधिवेशनले पार्टीलाई थप राजनीतिक वैधानिकता र मजबुती प्रदान गरेको दाबी गरे।
सभापति लामिछानेले पार्टीले विगत चार वर्षमा गरेका कतिपय कमजोरी र अनुभवहरूबाट धेरै कुरा सिकेको उल्लेख गर्दै आगामी दिनमा ती गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे। आन्तरिक निर्वाचनलाई विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनपछि आउने जित र हारलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने धारणा राखे। “यो हलभित्र प्रतिस्पर्धा जे-जस्तो भए पनि, बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ,” उनले भने।
महाधिवेशनमा पुराना र नयाँ साथीहरूबिचको एकताले बलियो रास्वपाको सङ्केत दिएको लामिछानेको भनाइ थियो। उनले निर्वाचनमा गुट वा प्यानलको हल्ला चले पनि महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गरेर नयाँ सदस्यहरूलाई समेत उच्च मत दिएको भन्दै खुसी व्यक्त गरे। पार्टीभित्रको गुटबन्दी र ‘नयाँ-पुरानो’ को द्वन्द्व महाधिवेशनको हलसँगै अन्त्य भएको घोषणा गर्दै उनले जनताको आशा र भरोसालाई मर्न नदिने दृढता व्यक्त गरे।





