काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वैकल्पिक स्रोतको परिचालनलाई तीव्रता दिएको छ। उपत्यकामा खानेपानीको चरम अभाव हुन नदिन केयूकेएलले शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने पुरानो योजनालाई ‘फास्ट ट्र्याक’मा अगाडि बढाएको हो।
बुधबार संसदीय समितिको बैठकमा जानकारी गराइएअनुसार, मेलम्चीबाट दैनिक आउने १८ देखि २० करोड लिटर पानी बन्द भएपछि बागमतीको पानी ल्याउने ५-६ वर्ष पुरानो योजनालाई ब्युँताइएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै पाइपलाइन विस्तारको कार्य सुरु भइसकेको छ। हाल शिवपुरीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब पहिलेका दुईवटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गरी क्षमता विस्तार गर्न लागिएको हो।
केयूकेएलका अनुसार यस आयोजनाका लागि आवश्यक पर्ने डीआई र एचडीपीई पाइपको व्यवस्थापन गरी आगामी तीन हप्तादेखि एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो योजना निर्धारित समयमै सम्पन्न भएमा काठमाडौँ उपत्यकामा दैनिक थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति हुनेछ, जसले विशेषगरी चक्रपथभित्र खानेपानी अभाव झेलिरहेका बासिन्दालाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।





