काठमाडौँ । युक्रेनले रुसी सेनाको इन्धन आपूर्ति सञ्जाललाई कमजोर पार्ने उद्देश्यले क्रिमिया आसपासका समुद्री मार्गहरूमा आक्रमण तीव्र बनाएको छ। युक्रेनी सेनाले ‘लजिस्टिक्स लकडाउन’ अभियानअन्तर्गत आजोभ सागर क्षेत्रमा रुसी इन्धन बोकेका व्यावसायिक जहाजहरूलाई मुख्य निसाना बनाउँदै रणनीतिक प्रहार गरेको हो।
युक्रेनी ड्रोन बलका कमान्डर रोबर्ट ब्रोभ्दीका अनुसार पछिल्ला चार दिनको अवधिमा मात्रै सो क्षेत्रमा रहेका कम्तीमा २५ वटा जहाजमाथि ड्रोन आक्रमण गरिएको छ। युक्रेनी सेनाले भने समग्रमा ३६ वटा व्यावसायिक तेल ट्याङ्करहरूमा प्रहार गरेको दाबी गरेको छ। यी ट्याङ्करहरू रुसले छद्म नाममा इन्धन ओसारपसारका लागि प्रयोग गर्दै आएको युक्रेनको भनाइ छ। आक्रमणका कारण कैयौँ जहाजहरूमा आगलागी भएको र यसले क्रिमियातर्फ जाने र बाहिरिने इन्धन आपूर्ति मार्गमा गम्भीर असर पुगेको बताइएको छ।
यसअघि गत महिना पनि युक्रेनले क्रिमियाको केर्च बन्दरगाहमा आक्रमण गरेको थियो, जसका कारण सो क्षेत्रमा तेल ट्याङ्करहरूको आवागमन निकै घटेको उपग्रह तस्बिरहरूले देखाएका थिए। यता, रुसको रोस्तोभ क्षेत्रका अधिकारीहरूले पनि तागानरोग खाडीमा तेल ट्याङ्करहरूमाथि युक्रेनी ड्रोन आक्रमण भएको पुष्टि गरेका छन्। युक्रेनी अधिकारीहरूका अनुसार क्रिमियातर्फ करिब ७ हजार टन इन्धन बोकेर जाँदै गरेका ट्याङ्करहरूमा आक्रमण गरिएको हो, जसको प्रभावस्वरूप तटीय क्षेत्रमा ठुलो धुवाँको मुस्लो देखिएको छ।




