काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर मनसुनी वायुको सक्रियताका कारण अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनुका साथै रातिको समयमा तीनवटा प्रदेशमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूका साथै हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। दिउँसो मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश लगायत तीनै प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत प्रक्षेपण गरिएकाले नदी तटीय क्षेत्र, भिरालो जमिन र डुबानानुकूल क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन महाशाखाले अपिल गरेको छ।




