मौसम अपडेट: आज लुम्बिनीको तराईमा ‘धेरै भारी’ वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो तथा रातिको समयमा देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका धेरै स्थान तथा मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने जनाइएको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा