आज परम्पराअनुसार नागपञ्चमी मनाइँदै: घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज (सोमबार) घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर पूजाअर्चना गर्दै नागपञ्चमी पर्व मनाउँदै छन्। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौ १ गते पर्न गएको हो। नागपञ्चमीका दिन घरको ढोकामा नाग टाँस्दा वर्षभरि सर्प, बिच्छीलगायतका विषालु जीवको भय नहुने तथा अग्नि, मेघ र चट्याङको विपद्बाट जोगिने धार्मिक विश्वास रहिआएको छ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाएमा पानीको अभाव हुने जनविश्वासका कारण वर्षा र प्रकृतिको सन्तुलनका लागि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएको उल्लेख भएकाले पनि आजको दिन नागपूजाका लागि विशेष मानिन्छ। आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटी चढाउने गरिन्छ।

नागपञ्चमीका अवसरमा काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका विभिन्न नागदह, कुण्ड र नागस्थानहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। वैज्ञानिक दृष्टिकोणले पनि प्रकृतिमा रहेका विषालु तत्वहरूलाई सोसेर पर्यावरण सन्तुलन राख्न नाग तथा सर्पको ठुलो योगदान रहने गर्दछ। नागपञ्चमी पर्वको सुरुआतसँगै नेपालीहरूको वर्षभरिका मुख्य चाडपर्वहरूको याम औपचारिक रूपमा सुरु भएको मानिन्छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा