मौसम अपडेट: आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शुक्रबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा चारवटा प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थान र देशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।