बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरपरिवारका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको तीनतले घर पूर्ण रूपमा भत्किएर क्षति भएको छ। पहिरोले घरभित्रका अन्नपात तथा लत्ताकपडा पुरिए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आसपासका बस्तीमा अझै पनि पहिरोको जोखिम कायमै रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानको अस्थायी टहरामा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारहरूलाई तत्काल राहत तथा खाद्यान्न सामग्री उपलब्ध गराउन पालिकाबाट टोली परिचालन गरिएको बताएका छन्। उनले प्रभावित नागरिकको सहयोगका लागि स्थानीय सामाजिक संघसंस्थाहरूलाई समेत आह्वान गरेका छन्।




