काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधि सभा बैठकमा दिएका अभिव्यक्तिहरू लगातार विवादमा तानिएका छन्। यसले समग्र पार्टीलाई नै गम्भीर क्षति पुग्ने भन्दै एमालेका कतिपय नेताहरूले चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्।
संसद्मा बोल्दै नेता थापाले वर्तमान सरकारको शक्तिको स्रोत ‘थ्री ए’ अर्थात् आर्मी, एल्गोरिदम र अमेरिका भएको भन्दै आक्रामक टिप्पणी गरेका थिए। उनले नेपाली सेना र मित्रराष्ट्र अमेरिकामाथि संसद्को रोस्ट्रमबाट लगातार प्रहार गरेपछि एमालेभित्र यसको चर्को आलोचना भइरहेको छ।
एमाले उपमहासचिव रघुवीर महासेठले संसद्मा नेता थापाले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका छन्। ‘नेता थापाले संसद्मा दिएको अभिव्यक्ति पार्टीको होइन, त्यो उहाँको नितान्त निजी विचार हो,’ महासेठले भने।
यसअघि पनि थापाले संसद्मा सेना र अन्तर्राष्ट्रिय शक्तिमाथि विवादित अभिव्यक्ति दिएपछि एमाले सचिवालय बैठकले राज्यका सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध मित्रवत् रहेको स्पष्टीकरण दिनुपरेको थियो। स्थापित जिम्मेवार दलका नेताबाट सुरक्षा निकाय र मित्रराष्ट्रहरूमाथि बारम्बार गैरजिम्मेवार ढंगले आक्षेप लगाउँदा पार्टीकै छविमा असर पर्ने विश्लेषण एमाले वृत्तमा हुन थालेको छ।





