कास्कीको पर्यटकीय गाउँ अस्ताममा प्रधानमन्त्री बालेनको अप्रत्याशित भ्रमण: खानेपानी, सिँचाइ र सडक स्तरोन्नति गर्न स्थानीयको माग

कास्की । पोखरा नजिकै रहेको पर्यटकीय क्षेत्र माछापुच्छ्रे गाउँपालिका–६ स्थित अस्ताम गाउँमा प्रधानमन्त्री बालेन्द्र साहको अप्रत्याशित (सरप्राइज) भ्रमण भएको छ। शुक्रबार सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएपछि मात्र गाउँमा प्रधानमन्त्री आउन लागेको थाहा पाएका स्थानीय बासिन्दाहरूमा नयाँ नेतृत्वको भ्रमणले खुसी र कौतुहलता छाएको छ। स्थानीय ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेका प्रधानमन्त्रीसमक्ष स्थानीयवासीले आफ्ना वर्षौँदेखिका आधारभूत समस्या र अपेक्षाहरू खुलेर राखेका छन्।

माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमशृङ्खलाको मनमोहक दृश्य एकै ठाउँबाट देखिने पर्यटकीय सम्भावनायुक्त गाउँ भए तापनि अस्ताममा खानेपानी, सिँचाइ र सडक पूर्वाधारको चरम अभाव रहेको छ। अग्लो डाँडामा अवस्थित भएकाले हिउँदको समयमा पानीका लागि काकाकुल हुनुपर्ने बाध्यता रहेको सुनाउँदै स्थानीय कृषकहरूले व्यवस्थित सिँचाइ र खानेपानी योजना ल्याइदिए पोखराको बजारमा तरकारी बेचेर आत्मनिर्भर बन्न सकिने बताएका छन्। साथै, कच्ची र अप्ठ्यारो बाटोका कारण बिरामी पर्दा अस्पताल पुर्‍याउन समेत सास्ती खेप्नुपरेकाले सडक कालोपत्रे गरिदिन उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

गाउँको इतिहासमै पहिलोपटक सरकार प्रमुख पुगेकोमा उत्साह व्यक्त गर्दै स्थानीयले पुराना राजनीतिक दलहरूप्रति निराशा पोखेका छन्। नयाँ नेतृत्वबाट सुशासन, तीव्र विकास र कानुनी कडाइको ठूलो आशा राखिएको बताउँदै स्थानीय ज्ञानु अधिकारी, रामप्रसाद अधिकारी तथा शोभाखर अधिकारीलगायतले महिला तथा बालिका हिंसा र जघन्य अपराधमा संलग्नहरूलाई कडा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउन र गाउँको पानी तथा बाटोको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा