काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई तीव्र गतिमा अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जना नागरिकको हवाई तथा स्थलमार्गबाट सकुशल उद्धार गरिएको बताएका हुन्।
उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनाहरूमा फसेका २७९ जना कामदार तथा प्राविधिकहरू रहेका छन्। विपद्ग्रस्त क्षेत्रमा हवाई उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टर परिचालन गरी हालसम्म २३६ वटा उडान भरिएको छ। यसैगरी स्थलगत खोज, उद्धार तथा व्यवस्थापन कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म ६७५ वटा शव फेला परेका छन्। सरकारले घाइतेहरूको उपचार, प्रभावितहरूका लागि अस्थायी आवास निर्माण, राहत सामग्री वितरण तथा अवरुद्ध सञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाएको छ। यस कठिन विपद्को घडीमा भारत, चीन, संयुक्त राज्य अमेरिका, एसियाली विकास बैंक (एडीबी) तथा विश्व बैंकलगायत विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट मानवीय एवं आर्थिक सहयोग प्राप्त भइरहेको प्रधानमन्त्रीले जनाएका छन्।





