काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वायुको प्रभावका कारण बाढी प्रभावित क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। देशका अधिकांश भू–भागमा सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
बाढी तथा पहिरो प्रभावित संवेदनशील क्षेत्रहरूमा थप वर्षाका कारण उद्धार तथा राहत कार्य प्रभावित हुनसक्ने भन्दै स्थानीय प्रशासन र सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ।





