काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई दुईवटा बैंकिङ कसुर मुद्दामा तोकिएको धरौटी रकम बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध दर्ता भएका दुई छुट्टाछुट्टै बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा क्रमशः १६ लाख र ६ लाख गरी कुल २२ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। उक्त धरौटी रकम दाखिला गर्न नसकेपछि उनलाई थुनामा राख्न कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
अध्यक्ष तामाङलाई गत भदौ २९ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा सहभागी भई बाहिरिने क्रममा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरी अभिलेखअनुसार तामाङविरुद्ध १० वटा फौजदारी मुद्दा दर्ता भएका छन्। काठमाडौँको नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रा.लि. सञ्चालन गर्दै आएका उनीमाथि चेक बाउन्स तथा आर्थिक हिनामिनालगायतका कसुरमा उजुरी परेका हुन्।
यसैबिच, धरौटी नबुझाएर कारागार चलान भएका तामाङमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै अन्य निकायले पनि काठमाडौँ प्रहरीलाई ताकेता गरेका छन्। उनीविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्व न्यायाधीकरण र जिल्ला प्रहरी परिसर भक्तपुरले उपस्थित गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेका छन्।





