काठमाडौँ । मुलुकभर मनसुनी गतिविधि क्रमशः न्यून बन्दै जाँदा आज (बिहीबार) देशका हिमाली तथा पहाडी भू-भागमा बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भेगमा भने दिउँसो आंशिक बदली रहे तापनि रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। देशका सम्पूर्ण तराई भू-भागमा भने राति मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।





