हेटौंडा : मुलुक कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमविरुद्ध संघर्ष गरिरहेको बेला मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दी भने त्यहाँको प्रशासन र जेलरको दमनविरुद्ध आन्दोलित भएका छन् । आफ्नो सेवा सुविधामा ध्यान नदिएको र आफूहरुमाथि उपल्लो निकायमा रहेकाले शोषण गरेको भन्दै उनीहरुले आज शनिबार त्यहाँ आन्दोलन गरेका हुन् ।
भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीमा दुईवटा ब्लक छ । जसमध्ये ‘क’ ब्लकका रहेका नाइके, भाइनाइके लगायत सबै कैदीबन्दीले आफूहरुमाथि शोषण भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि जेलर र प्रशासनको मिलेमतोमा कारागारमा आउने खाद्यान्न, तरकारीहरुमा कमिसन लिएकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको कैदीबन्दीको भनाइ छ । साथै, कैदीबन्दीले पाउनुपर्ने सुविधा सम्बन्धित व्यक्तिलाई नदिएको, टेलिफोनको लाइन काटिदिएको, कैदीहरुलाई मानव अधिकार उल्लङ्घन हुने गरी व्यवहार गरेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।
सो कारागारका जेलर, नाइके लगायत जिम्मेवार व्यक्तिहरु मिलेर यस्ता शोषण, दमन गर्दै आएको कैदीबन्दीको ठहर छ । उक्त शोषणको बिरोध तथा सुविधाको माग गर्दै उनीहरु प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् । विरोधपछि केही कैदीबन्दीहरु आफ्नो अधिकारको माग गर्ने शब्दहरु लेखिएका प्लेकार्ड बोकेर अनसनमा बसेका थिए ।
कारागारका समस्याबारे जानकारी गराउँदै त्यहाँका कैदीबन्दीहरुले समस्या समाधान गरिदिन आग्रहसहित नेपाल सरकारको गृहमन्त्रीलाई निवेदन पनि लेखेका छन् । ‘क ब्लकको कैदी बन्दीमाथि विभिन्न समयमा विभिन्न तरिकाले शोषण भइरहेको छ । यो दमन शोषण बन्द गरियोस् र हामी कैदी बन्दीले पाउने हक अधिकार सुनिश्चित गरिपाउँ’, निवेदनमा भनिएको छ । सम्पूर्ण कैदीबन्दीको समर्थनमा निवेदन तयार पारिएको उल्लेख गर्दै ‘क’ ब्लकका कैदीबन्दीले निवेदनमा हस्ताक्षर गरेका छन् ।
कारागारमा आन्दोलन भएको थाहा पाएपछि सशस्त्र प्रहरीका प्रतिनिधिलाई घटनाबारे जानकारी लिन त्यहाँ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिपकराज नेपालले जानकारी दिए । प्रहरी परिचालन गरी त्यहाँको आन्दोलन साम्य पारिएको प्रजिअ नेपालको भनाइ छ ।
प्रजिअ नेपालले त्यहाँको समस्या समाधान भइसकेको बताए पनि उक्त कारागारमा यो समस्या भने नयाँ होइन । कैदीबन्दीले कारागारको प्रशासन र जिम्मेवार निकायका व्यक्तिविरुद्ध बेला–बेलामा आवाज उठाउँदै आएका छन् । यसअघि त्यहाँका जेलर मदन अधिकारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । घुस प्रकरणमा आफ्ना नेताको हात रहेको जानकारीमा आएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय कार्यकर्ता आफ्ना नेताकोमा डेलिगेसन गएका थिए । यद्यपी घटनाबारे पुष्टि हुन नसकी कार्यकर्तालाई आरोप निराधार रहेको भन्दै आश्वस्त पारी फर्काइएको स्रोतले दाबी गरेको छ ।