क्रिकेटर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच थप ५ वर्षका लागि सम्झौता नवीकरण; प्रतिभा खोजीका लागि छात्रवृत्ति दिने घोषणा

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र प्रमुख शैक्षिक परामर्शदाता कम्पनी ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच थप ५ वर्षका लागि व्यवसायिक सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित एक विशेष कार्यक्रमका बिच दुई पक्षबीच दीर्घकालीन सहकार्यका लागि औपचारिक हस्ताक्षर भएको हो।

यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग २ वर्षको सम्झौता गरेको थियो। उक्त सम्झौताको अवधि बाँकी छँदै कम्पनीले थप ५ वर्षका लागि सन्दीपसँगको साझेदारीलाई निरन्तरता दिने निर्णय गरेको हो। सम्झौता पत्रमा ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र क्रिकेटर सन्दीप लामिछानेले हस्ताक्षर गरे।

ब्रान्ड एम्बेसेडर सम्झौतासँगै कम्पनीले ग्राउण्ड लेभलबाटै क्रिकेट खेलको विकासका लागि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नयाँ अभियान समेत घोषणा गरेको छ।

ब्रिजका सिइओ भुवन गिरीले ‘राइजिङ एण्ड साइनिङ विथ एस २५’ कार्यक्रममार्फत देशका हरेक प्रदेशमा पुगेर तल्लो तहबाटै प्रतिभावान खेलाडीहरूको खोजी गर्ने र पहिलो चरणमा कम्तीमा ५ जना उत्कृष्ट युवा खेलाडीलाई पूर्ण छात्रवृत्ति (स्कलरसिप) प्रदान गर्ने योजना सुनाए। सम्झौता नवीकरणपछि बोल्दै सन्दीप लामिछानेले दुई वर्षअघि आफ्नो जीवनको सबैभन्दा कठिन र संकटपूर्ण समयमा आफूलाई उभ्याउन ब्रिज इन्टरनेशनलले ठुलो भरोसा दिएको स्मरण गरे। “म कुनै समय कठिन अवस्थामा हुँदा, लडेको बेला मलाई उठाउने काम ब्रिजले गर्‍यो। यो मेरा लागि व्यावसायिक सम्झौता मात्र नभएर एउटा अटुट पारिवारिक सम्बन्ध जस्तै हो,” लामिछानेले भने।

हालै सम्पन्न एकदिवसीय (ODI) सिरिजमा सन्दीपले विश्व क्रिकेटमै सबैभन्दा छिटो १ सय ५० विकेट लिने ऐतिहासिक कीर्तिमान रचेका थिए। उनले मात्र ७३ खेलमा यो उपलब्धि हासिल गर्दै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ७७ खेलको कीर्तिमान भंग गरेका थिए। ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान समेत आफ्नै नाममा सुरक्षित राखेका सन्दीपसँगको यो सहकार्यले नेपाली क्रिकेटको आधारभूत विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास खेल वृत्तले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा