विश्वकप फुटबल: जापानद्वारा ट्युनिसिया ४–० को फराकिलो अन्तरले पराजित, नकआउट चरणको यात्रा बलियो

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० गोलको सानदार जित दर्ता गरेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा जापानले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै उत्कृष्ट जित निकालेको हो। यो जितसँगै जापानले प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा पुग्ने आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ।

जापानी टोलीको जितमा आयासे उएडाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक-एक गोलको योगदान दिए। खेल सुरु भएको चौथो मिनेटमै केइतो नाकामुराको पासलाई सदुपयोग गर्दै दाइची कामाडाले गोल गरेर जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३१औँ मिनेटमा कोउ इताकुराको पासमा उएडाले गोल गरेपछि पहिलो हाफमै जापान २–० को बलियो स्थितिमा पुग्यो।

दोस्रो हाफमा पनि जापानले आफ्नो दबाबलाई निरन्तरता दियो। खेलको ६९औँ मिनेटमा जुन्या इटोले टोलीका लागि तेस्रो गोल थपे भने ८३औँ मिनेटमा उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ४–० को फराकिलो जित सुनिश्चित गराए। ट्युनिसियाका डिफेन्डर र गोलकिपर जापानी स्ट्राइकरहरूको तीव्र गतिको आक्रमण रोक्न असफल देखिएका थिए। यसअघि नेदरल्याण्ड्ससँग बराबरी खेलेको जापानले अब समूहको शीर्ष स्थानका लागि नेदरल्याण्ड्ससँगै प्रतिस्पर्धा गर्नेछ भने लगातार दुई खेलमा गरी ९ गोल खाएको ट्युनिसिया समूह चरणबाटै बाहिरिने सङ्घारमा पुगेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा