नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाले गर्‍यो घातक हमला

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकाले “शक्तिशाली र घातक आक्रमण” गरेको बताएका छन्।

ट्रम्पले आईएसलाई “आतङ्ककारी तत्व” भन्दै निर्दोष नागरिक, विशेषगरी इसाई समुदायलाई लक्षित गरी हत्या गरेको आरोप लगाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी सेनाले “धेरै वटा पूर्ण रूपमा सफल आक्रमण” गरेको दाबी गरेका छन्। यसैबीच अमेरिकी अफ्रिका कमाण्ड (अफ्रिकम) ले बिहीबार भएको आक्रमण नाइजेरियासँग समन्वयमा सोकोटो राज्यमा गरिएको पुष्टि गरेको छ।

नाइजेरियाका परराष्ट्र मन्त्री युसुफ मइतामा तुग्गरले बीबीसीसँग कुरा गर्दै उक्त कारबाही “संयुक्त अपरेसन” भएको र यसको कुनै धर्मसँग सम्बन्ध नरहेको बताएका छन्। उनले आतंककारी समूहलाई लक्षित गरिएको स्पष्ट पार्दै यस अभियानको योजना “धेरै समयदेखि” बनाइएको र नाइजेरियाले उपलब्ध गराएको गुप्तचर सूचनाका आधारमा आक्रमण गरिएको जानकारी दिए।

तुग्गरले आगामी दिनमा थप आक्रमण हुन सक्ने सम्भावनालाई अस्वीकार नगर्दै त्यसका लागि दुवै देशको नेतृत्वस्तरबाट निर्णय हुनुपर्ने बताए।

यसअघि नोभेम्बरमा राष्ट्रपति ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामवादी लडाकु समूहविरुद्ध कारबाहीको तयारी गर्न अमेरिकी सेनालाई निर्देशन दिएका थिए। पछिल्ला महिनाहरूमा नाइजेरियामा इसाई समुदायमाथि “नरसंहार” भइरहेको भन्ने दाबी केही अमेरिकी दक्षिणपन्थी वृत्तमा फैलिँदै आएको छ, तर हिंसा अनुगमन गर्ने संस्थाहरूले यस्तो दाबी पुष्टि गर्ने प्रमाण नरहेको बताएका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले नाइजेरियाली सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा “मेरी क्रिसमस” लेखेका छन्। अमेरिकी रक्षा मन्त्रालयले पनि क्षेप्यास्त्र प्रक्षेपणको भिडियो सार्वजनिक गरेको छ।

शुक्रबार नाइजेरियाको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतंकवाद र हिंसात्मक अतिवादको दीर्घकालीन खतरासँग जुध्न अमेरिका लगायत अन्तर्राष्ट्रिय साझेदारसँग संरचित सुरक्षा सहकार्य जारी रहेको जनाएको छ। यस सहकार्यका कारण उत्तर–पश्चिमी क्षेत्रमा आतंककारी लक्ष्यमा सटीक हवाई आक्रमण सम्भव भएको उल्लेख गरिएको छ।

हिंसा विश्लेषण गर्ने संस्था एसीएलईडीका अनुसार नाइजेरियामा आतंकवादी आक्रमणमा मारिने अधिकांश व्यक्ति मुस्लिम समुदायका छन्। मानवअधिकार संस्थाहरूले पनि इसाई समुदायलाई असमान रूपमा लक्षित गरिएको कुनै प्रमाण नरहेको बताएका छन्।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशमा धार्मिक सहिष्णुता कायम रहेको र सुरक्षा चुनौतीले सबै धर्म र क्षेत्रका नागरिकलाई असर गरिरहेको बताएका छन्। उनका सल्लाहकार ड्यानियल ब्वालाले आतंकवादीविरुद्धको सैन्य कारबाही संयुक्त रूपमा हुनुपर्ने र नाइजेरिया एक सार्वभौम राष्ट्र भएको स्पष्ट पारेका छन्।

यसैबीच, अमेरिकाले हालै सिरियामा पनि इस्लामिक स्टेटविरुद्ध ठूलो सैन्य कारबाही गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार मध्य सिरियाका विभिन्न स्थानमा ७० भन्दा बढी लक्ष्यमा हवाई आक्रमण गरिएको थियो, जसमा जोर्डनका विमानहरू पनि संलग्न थिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा