काठमाडौं । अब अमेरिका जान चाहने नेपाली नागरिकले भिसाका लागि आवेदन दिँदा भिजा शुल्क बाहेक २१ लख रुपैयाँ सम्म धरौटी तिर्नु पर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयल नेपाली नागरिकलाई भिसा बन्ड आवश्यक पर्ने देशहरूको सूचीमा राख्दै बीवान/बीटु भिसामा अमेरिका प्रवेश गर्ने करवि २१ लाख ६६ हजार (१५ हजार अमेरिकी डलर) सम्म धरौटी रकम अनिवार्य गरेको हो ।
नयाँ नियमअनुसार अब भ्रमण भिसाका लागि आवेदन दिँदा नेपाली नागरीकले भिसा शुल्कबाहेक अतिरिक्त धरौटी रकम स्वरुप उक्त पैसा तिर्नु पर्नेछ । धरौटी रकमको आकार भिसा अन्तर्वार्ताको क्रममा कन्सुलर अधिकारीले निर्धारण गर्नेछन्।
यो व्यवस्था आगामी जनवरी २१ अर्थात माघ ७ गतेदेखि लागू हुने बताइएको छ।
धरौटी बुझाउँदा आवेदकले होमल्यान्ड सेक्युरिटी विभागको इमिग्रेशन बण्ड फारम समेत बुझाउनुपर्नेछ। साथै, धरौटी रकम अमेरिकी ट्रेजरी विभागको आधिकारिक अनलाइन भुक्तानी प्रणाली पे डट जीओभी मार्फत मात्र तिर्नुपर्नेछ।
कन्सुलर अधिकारीले निर्देशन दिएपछि मात्र फारम बुझाएर धरौटी तिर्ने, यदि अधिकारीको निर्देशनबिनै कसैले रकम तिर्यो भने त्यो रकम फिर्ता नहुने चेतावनी समेत दिएको छ।
साथै, कुनै तेस्रो–पक्ष वेबसाइट प्रयोग गरेर तिरेको रकमको जिम्मेवारी अमेरिकी सरकारले नलिने स्पष्ट पारिएको छ। भिसा बन्ड तिरेकै आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन।
भिसा बन्ड तिरेका यात्रुहरूले अमेरिकामा प्रवेश र प्रस्थान गर्दा तोकिएका सीमित विमानस्थल प्रयोग गर्नुपर्ने अर्को सर्त पनि राखिएको छ। तोकिएका प्रवेश बिन्दुहरूमा बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वाशिङ्टन डल्स अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) रहेका छन्। यी सर्त पालना नगरे प्रवेश अस्वीकृत हुन सक्ने वा प्रस्थानको विवरण सही रूपमा अभिलेख नहुन सक्ने चेतावनी दिएको छ।
