चिनियाँ परराष्ट्रमन्त्री वाङ यीद्वारा नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई: रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। शुक्रबार एक शुभकामना सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो।

सन्देशमा मन्त्री वाङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र चीन सुख-दुःखमा सँगसँगै उभिँदै आएको स्मरण गर्नुभएको छ। उहाँले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील) का आधारमा निरन्तर विकास हुँदै आएको र यसले दुवै मुलुकको हित प्रवर्द्धन गरेको उल्लेख गर्नुभएको छ।

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच विगतमा भएका महत्त्वपूर्ण सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउनुभएको छ। साथै, विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन-नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्‍याउन नवनियुक्त मन्त्री खनालसँग निकट रहेर सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख छ।

बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएसँगै छिमेकी मुलुकहरूबाट उच्चस्तरीय बधाई आउने क्रम सुरु भएको छ। परराष्ट्रमन्त्री खनालले कार्यभार सम्हालेलगत्तै आएको यो चिनियाँ सन्देशलाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा