वासिङ्टन । पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच ऐतिहासिक शान्ति वार्ता जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस सम्झौताप्रति आफ्नो खासै चासो नरहेको स्पष्ट पार्नुभएको छ। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको नतिजा जे आए पनि अन्तिममा अमेरिकाकै जित हुने दाबी गर्नुभएको हो।
राष्ट्रपति ट्रम्पले इस्लामावादबाट आफूले निरन्तर रिपोर्टहरू प्राप्त गरिरहेको जानकारी दिँदै इरानसँगको सम्झौता हुनु वा नहुनुले आफूलाई कुनै फरक नपार्ने बताउनुभयो। “जे सुकै होस्, जित हाम्रै हुन्छ,” उहाँले भन्नुभयो, “हामीले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेका छौँ, उनीहरूको वायुसेना, नौसेना र नेतृत्वलाई अमेरिकी सैन्य शक्तिले तहसनहस पारिसकेको छ।”
विश्वकै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ खुलाउन अमेरिकाले नै प्रयास गरिरहेको उल्लेख गर्दै ट्रम्पले अन्य देशहरूको कडा आलोचना गर्नुभयो। उहाँले डराउने, कमजोर र लोभी देशहरूका लागि अमेरिकाले जोखिम उठाइरहेको दाबी गर्दै यस कार्यमा नेटो (NATO) ले कुनै सहयोग नगरेको भन्दै असन्तुष्टि समेत पोख्नुभयो। उपराष्ट्रपति जेडी भान्सले इरानलाई ‘अन्तिम प्रस्ताव’ दिइरहेका बेला ट्रम्पको यो कडा अभिव्यक्तिले वार्ताको भविष्यलाई थप अन्योलमा पारेको छ।





