काठमाडौँ । पश्चिम एसियामा जारी भूराजनीतिक तनावका बिच विश्व बजारमा कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ। इरान र अमेरिकाबिचको द्वन्द्वको तत्कालको जोखिम केही कम भएसँगै बजारको ध्यान अब तेलको आपूर्ति र विश्वव्यापी मागको अवस्थातर्फ मोडिँदा मूल्यमा प्रभाव परेको हो।
मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ०.५ प्रतिशत (३८ सेन्ट) ले बढेर प्रतिब्यारेल ७२ डलर ३७ सेन्ट कायम भएको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य पनि ०.४ प्रतिशत (३० सेन्ट) ले वृद्धि हुँदै ६८ डलर ८५ सेन्ट प्रतिब्यारेल पुगेको छ। विश्लेषकहरूका अनुसार कच्चा तेलको यो मूल्य इरान–अमेरिका तनाव सुरु हुनुअघिको अवस्था नजिक पुगेको हो।
बजार विश्लेषकहरूले तेल आपूर्तिको शृङ्खला पुनः सुरु भएसँगै तत्कालका लागि भूराजनीतिक जोखिम घटेको बताएका छन्। यद्यपि, सोमबार राति इरानको रिभोल्युसनरी गार्ड्सले स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गरिरहेका व्यावसायिक जहाजहरूमा क्षेप्यास्त्र प्रहार गर्दा त्रास कायमै छ। आक्रमणबाट जहाजहरूमा ठुलो क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन। यस घटनापछि साउदी अरेबियालगायतका देशका तेल ट्याङ्करहरूले पुनः आवागमन सुरु गरे पनि ढुवानी कम्पनीहरू अझै सतर्क रहेकाले पूर्ण रूपमा अवस्था सामान्य हुन समय लाग्ने देखिएको छ।
यसैबिच, विश्वव्यापी तेल आपूर्तिलाई सन्तुलित राख्न ओपेक प्लस (OPEC+) ले आगामी अगस्टदेखि दैनिक १ लाख ८८ हजार ब्यारेल थप उत्पादन बढाउने निर्णय गरेको छ। उता, संयुक्त अरब इमिरेट्सले पनि आफ्नो उत्पादन बढाएर सन् २०२० यताकै उच्च बिन्दुमा पुर्याएको छ भने साउदी अरबले एसियाली बजारका लागि कच्चा तेलको बिक्री मूल्यमा पछिल्लो दुई दशकयताकै उच्च (प्रतिब्यारेल १.५० डलर) कटौती गरेको छ।




