काठमाडौँ । मध्यपूर्वमा इरान र अमेरिकाबिचको तनाव पुनः उत्कर्षमा पुगेको छ। इरानले रणनीतिक महत्त्वको होर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेलगत्तै अमेरिकाले इरानका १४० भन्दा बढी सैन्य अखडाहरूमा भीषण आक्रमण गरेको छ। यद्यपि, अमेरिकाले भने विश्वव्यापी व्यापारको प्रमुख मार्ग मानिने उक्त जलमार्ग अझै खुला रहेको र त्यसको सुरक्षाका लागि अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको दाबी गरेको छ।
पछिल्लो तनाव इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अनुमतिबिना जलमार्ग प्रयोग गरेको भन्दै एमभी जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमा क्रुज मिसाइल प्रहार गरेपछि सुरु भएको हो। उक्त आक्रमणपछि जहाजमा क्षति पुगेको छ भने एक जना चालक दलका सदस्य बेपत्ता भएका छन्। यसको जवाफमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका मिसाइल तथा ड्रोन साइट, सञ्चार सञ्जाल र तटीय निगरानी केन्द्रसहित १४० वटा लक्ष्यमा प्रत्याक्रमण गरेको जनाएको छ।
यसका साथै, इरानले पनि जोर्डनस्थित अमेरिकी सैन्य बेस ‘प्रिन्स हसन एयर बेस’ को कमान्ड सेन्टर र ड्रोन ह्याङ्गर ध्वस्त पारेको दाबी गरेको छ। इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनका विभिन्न अमेरिकी आधार शिविरहरूमा समेत व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ। इरान र अमेरिकाबिचको यो पछिल्लो सैन्य भिडन्तले गत महिना मात्रै भएको अन्तरिम युद्धविराम सम्झौतालाई गम्भीर सङ्कटमा धकेलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको कदमले युद्धविराम तोडिएको सङ्केत गरे पनि मध्यस्थकर्ताहरूमार्फत कूटनीतिक प्रयास भने अझै जारी रहेको बताइएको छ।





