काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्तले आगामी निर्वाचनको समयमा मत सर्वेक्षण गर्ने सञ्चारमाध्यमहरूलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। निर्वाचन आचारसंहिता अनुसार कुनै पनि व्यक्ति वा संस्थाले उम्मेदवार वा राजनीतिक दलको हारजितका विषयमा मत सर्वेक्षण गर्न र त्यसको परिणाम सार्वजनिक गर्न नपाउने व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो।
प्रमुख आयुक्त भण्डारीले निर्वाचनको निष्पक्षता र स्वतन्त्रता कायम राख्न यस्तो कदम चालिएको बताउनुभएको छ। उहाँका अनुसार मतदान हुनुभन्दा अगाडि सार्वजनिक गरिने मत सर्वेक्षणले मतदाताको मनोभावनालाई प्रभावित पार्न सक्ने भएकाले यसमा पूर्ण प्रतिबन्ध लगाइएको हो। यदि कुनै मिडिया वा सामाजिक सञ्चालमार्फत यस्तो सर्वेक्षण सार्वजनिक भएमा निर्वाचन ऐन र नियमावली अनुसार कानुनी कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
आयोगले सबै सञ्चारमाध्यम र सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र स्वच्छ निर्वाचन गराउन सहयोग पुर्याउन आग्रह गरेको छ। निर्वाचनको समयमा भ्रामक समाचार वा अनुमानित परिणामहरूले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै आयोगले अनुगमन टोलीलाई समेत सक्रिय बनाएको जनाएको छ।




