वसन्तपुरमा ३२ फिट अग्लो चीर ठड्याइयो: काठमाडौँ उपत्यकासहित देशभर हाेली पर्वको शुभारम्भ

काठमाडाैं । काठमाडाैंकाे वसन्तपुर क्षेत्रमा मंगलबार तीन खण्डे चीर ठड्याउँदै यस वर्षकाे हाेलीकाे औपचारिक शुभारम्भ गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा ३२ फिट अग्लो र तीन खण्डको रंगीविरंगी चीर ठड्याइएको छ। यससँगै काठमाडौँ उपत्यकासहित देशभर यस वर्षको फागु पर्व अर्थात् होलीको औपचारिक सुरुवात भएको हाे।

हनुमानढोका दरबारको मोहनकाजी चोक र दाखचोक क्षेत्रमा मानिसहरूको उत्साहजनक उपस्थितिबीच गजुर शैलीको चीर ठड्याएपछि गुर्जुको पल्टनले परम्परागत हर्ष बढाइँ गर्दै उत्सवको माहोल तताएको थियो। फागुन शुक्ल अष्टमीका दिन यसरी चीर ठड्याउने परम्पराले वसन्त ऋतुको आगमन र रङहरूको पर्व होली सुरु भएको संकेत गर्दछ।

सांस्कृतिक मान्यताअनुसार यो पर्व असत्यमाथि सत्यको विजयको उत्सव हो। पौराणिक कथामा उल्लेख भएअनुसार, दैत्यराज हिरण्यकश्यपुले भगवान् विष्णुका परम भक्त आफ्नै पुत्र प्रह्लादलाई अग्निमा जलाउन खोज्दा होलिका दहन भएको तर प्रह्लाद सकुशल रहेको खुसीयालीमा होली मनाउने गरिन्छ। यही धार्मिक विश्वासलाई शिरोधार्य गर्दै काठमाडौँमा प्रत्येक वर्ष विधिपूर्वक चीर ठड्याउने चलन रही आएको छ।

यो वर्षको होली पर्व पहाडी जिल्लाहरूमा आगामी फागुन १८ गते र तराईका जिल्लाहरूमा फागुन १९ गते हर्षोल्लासका साथ मनाइँदै छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा