काठमाडाैं । नेपाली बजारमा यस साताको सुरुवातदेखि नै सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ। साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ।
पछिल्ला तीन दिनको तथ्यांक हेर्दा सुनको भाउ आक्रामक रूपमा उकालो लागेको देखिन्छ। आइतबार एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार पुनः ४ हजार ५०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य निरन्तर बढिरहेका बेला चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा झरेको छ।




