काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै अन्य प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, यी दुई प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका अन्य प्रदेशका हिमाली भेगमा पनि एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेको छ भने दिउँसोतिर मौसम मुख्यतया सफा रहनेछ। आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा तुवाँलो लाग्न सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।





