गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउनुभएको छ। पछिल्लो ताजा मत परिणाम अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गर्दै जिततर्फ बलियो पाइला चाल्नुभएको हो।
गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत प्राप्त गर्नुभएको छ। गुरुङ र खत्रीबीचको मतान्तर ८ हजार १३० पुगेको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपा (एमाले) का रामचन्द्र लामिछाने २ हजार ८५७ मतसहित चौथो स्थानमा खुम्चिनुभएको छ।
गोरखामा परम्परागत दलहरूको प्रभावलाई चिर्दै जेन्जी (Gen Z) आन्दोलनका नेता समेत रहेका सुदन गुरुङको यो अग्रताले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। मतगणनाको अन्तिम चरणतिर पुग्दा गुरुङको जित करिब निश्चित देखिएको छ।








