काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूह (इतर समूह) का निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएका छन्। नेता डा. प्रकाशशरण महतका अनुसार उक्त बैठक गोल्फुटारस्थित खड्काको निवासमा बस्ने तय भएको छ।
सातवटै प्रदेशमा सम्पन्न भएका प्रदेशस्तरीय भेलाहरूको समीक्षा गर्न र पार्टीभित्रको आन्तरिक विवाद समाधानमा संस्थापन पक्षले तदारुकता नदेखाएको भन्दै आगामी रणनीति तय गर्न यो बैठक आह्वान गरिएको हो। विशेष महाधिवेशनपछि कांग्रेसभित्रको विवाद पेचिलो बन्दै गएको सन्दर्भमा इतर समूहले आफ्नो छुट्टै रणनीति बनाउन लागेको हो।
यसका साथै, आगामी १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौँको चुनदेवीमा तय गरिएको ‘सम्पर्क कार्यालय’ लाई कहिलेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि बैठकमा महत्त्वपूर्ण छलफल हुनेछ। नेता डा. महतका अनुसार खड्का निवासमा रंगरोगनको काम भइरहेकाले बैठक भोलि बस्नेछ। यसैबिच, आजै मध्य बानेश्वरस्थित विमलेन्द्र निधिको निवासमा नेताहरू निधि, डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच पनि छुट्टै आन्तरिक भेटघाट भइरहेको छ।





