काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। मनसुनी वायुको प्रभावका कारण देशका पहाडी, हिमाली तथा तराईका क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। यसै गरी देशका तराई भू-भागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा भने देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका नदी तटीय आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।





