काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। शनिबार बिहान अध्यक्ष ओलीलाई उहाँकै निवासबाट नियन्त्रणमा लिइएलगत्तै बसेको बैठकले सरकारको यस कदमलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ।
एमाले नेता महेश बस्नेतका अनुसार बैठकले ओलीको गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टीले आजै (शनिबार) अपराह्न ३ बजे देशका ७७ वटै जिल्ला सदरमुकाममा आफ्ना जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। यस्तै, भोलि चैत १५ गते दिउँसो १२ बजे सबै जिल्लामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरिएको छ।
बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग सहकार्य र संवाद गर्ने निर्णयसमेत गरेको छ। एमालेले बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेको २४ घण्टा नबित्दै प्रतिशोधपूर्ण ढंगले नेताहरूलाई पक्राउ गरेको आरोप लगाएको छ। ‘जेनजी’ आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा लोकतन्त्रका लागि लडेका नेताहरूलाई हिरासतमा राख्नु गलत भएको एमालेको ठहर छ।
यसअघि आज बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको छ। एमालेको यो निर्णयसँगै मुलुकभर राजनीतिक तनाव बढ्ने देखिएको छ भने सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ। पार्टीले आफ्ना कार्यकर्ताहरूलाई संयमित रहँदै शान्तिपूर्ण तर सशक्त आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ।





