सेयर बजारमा लगातार दोस्रो दिन पहिरोः नेप्से ४८ अंकले घट्दा १३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं। नेपाली सेयर बजारमा लगातार दोस्रो दिन पनि ठूलो गिरावट आएको छ। आइतबार ७१ अंकले ओरालो लागेको बजार मापक नेप्से परिसूचक आज सोमबार पनि थप ४७.७१ अंक अर्थात् १.६५ प्रतिशतले घटेको छ।

यस गिरावटसँगै परिसूचक २८३१.३९ को विन्दुमा झरेर अडिएको छ। बजारमा आएको यो संकुचनले पछिल्ला दिनको उत्साहलाई केही मत्थर बनाएको छ।

आजको कारोबारमा बजारका सबै उपसूचकहरू राताम्मे देखिएका छन्। विशेष गरी व्यापार समूहमा २.५६ प्रतिशत, अन्य समूहमा २.१३ प्रतिशत र वित्त समूहमा २ प्रतिशतको उच्च गिरावट आएको छ। त्यसैगरी जलविद्युत् १.९३, वाणिज्य बैंक १.८६, निर्जीवन बीमा १.८२, लगानी समूह १.५९ र जीवन बीमा १.४० प्रतिशतले ओरालो लागेका छन्।

लघुवित्त, विकास बैंक र होटल तथा पर्यटन समूहका उपसूचकहरूमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट दर्ता भएको छ, जसले गर्दा कुनै पनि क्षेत्र आजको गिरावट देखिएकाे छ।

परिसूचकसँगै बजारको कारोबार रकममा पनि आज केही कमी आएको छ। सोमबार ३४१ कम्पनीका ३ करोड १६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो दिन आइतबार १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो मुनाफा आर्जन गरेका छन्। आज २६ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा ५ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिभर साइड इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै सुपरखुदी, सूर्यकुण्ड हाइड्रो र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि करिब १० प्रतिशतकै हाराहारीमा नाफा कमाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा