काठमाडौँ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले भदौ २४ गते सिंहदरबार र संसद् भवनमा भएको आगजनीका दोषीहरूलाई कानुनी दायरामा ल्याउन र जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोग र सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउनुभएको हो। “जाँचबुझ आयोगको प्रतिवेदन सरकार आफैँले सार्वजनिक गर्ने हो कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढेर मात्रै यसबारे थाहा पाउने हो?” भन्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई कटाक्ष गर्नुभयो।
आङदेम्बेले भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र २४ गते भएको राष्ट्रिय संरचनाहरूको ध्वंशलाई फरक–फरक दृष्टिकोणले हेर्न नहुने बताउनुभयो। “किन खरानी भयो संसद् भवन? किन जल्यो सिंहदरबार? कसले जलायो?” भन्दै उहाँले ती घटनाको एक–एक विवरण केलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले आयोगले २३ गतेको घटनाको मात्रै जाँचबुझ गरी २४ गतेको ध्वंशका बारेमा ‘समय नभ्याइएको’ भन्नु रहस्यमय र शङ्कास्पद रहेको टिप्पणी गर्नुभयो। पटक–पटक समय थपेर पनि काम पूरा नगर्नुले आयोगको निष्पक्षतामा प्रश्न उठेको उहाँको तर्क थियो।
कांग्रेस सांसद आङदेम्बेले ‘जेनजी’ आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधि र राज्यका सर्वोच्च अङ्गहरूमाथि गरिएको प्रहारलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुने स्पष्ट पार्नुभयो। उहाँले कसैले दमन मात्र देख्ने र कसैले ध्वंश मात्र देख्ने प्रवृत्ति गलत भएको बताउँदै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो। “दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा कांग्रेस दृढ छ,” उहाँले भन्नुभयो।
सरकारले सुझबुझका साथ कदम चाल्नुपर्ने सुझाव दिँदै उहाँले संसद् र सिंहदरबार जस्ता ऐतिहासिक र रणनीतिक महत्त्वका भवनहरू जल्दा पनि सरकार मौन बस्नु र प्रतिवेदन लुकाउनु लोकतन्त्रका लागि घातक हुने चेतावनी दिनुभयो। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सुशासनको कुरा गरिरहँदा यी गम्भीर घटनाको सत्यतथ्य बाहिर ल्याउनु नै पहिलो परीक्षा हुने उहाँको भनाइ थियो।




