काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सक्रियतामा पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट पक्राउ गरिएको हो।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार पाण्डे आफ्नो मोबाइल फोन स्विच अफ गरी लुकिछिपी भाग्दै गरेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा वैशाख २९ गते राति करिब ८:०० बजे सवारी चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं महानगरपालिका-१८ रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्ने ६३ वर्षीय पाण्डेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
पाण्डेमाथि मुख्यतया ठगी तथा आपराधिक विश्वासघात को गम्भीर आरोप लागेको छ । अनुसन्धानका मुख्य बुँदाहरू यस प्रकार छन्:
स्मार्ट टेलिकमको सम्पत्तिमा बेइमानी: अनुमतिपत्र (लाइसेन्स) नवीकरण नभएपछि ‘स्मार्ट टेलिकम प्रा. लि.’ को सम्पूर्ण सम्पत्ति र पूर्वाधार नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आइसकेको थियो । तर, लोन रिकभरी कमिटिको अध्यक्ष समेत रहेका पाण्डेले नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ उक्त सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा सामेल गराएको आरोप छ।
४० करोडको आर्थिक अनियमितता: बैंकले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्दा स्मार्टसेलले तिर्नुपर्ने घरभाडा र विद्युत महसुल वापतको रु. ४० करोड रकम बोलपत्रदाताबाट एकमुष्ठ असुल गर्ने उल्लेख गरेको थियो ।
घरधनी र विद्युत प्राधिकरणलाई ठगी: बोलपत्रदाताबाट सो रकम संकलन गरे तापनि बैंकले हालसम्म सम्बन्धित घरधनी र विद्युत महसुल भुक्तानी नगरी आफैँसँग राखेर ठगी गरेको सीआईबीको ठहर छ।
सीआईबीले पाण्डेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतका कसूरहरूमा मुद्दा अघि बढाएको छ । सरकारी सम्पत्तिमाथि बेइमानी गरेको र सर्वसाधारणको घरभाडा समेत हडपेको विषयमा ब्यूरोले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।
पाण्डेको पक्राउले बैंकिङ क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी र थप प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।





