काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई तीव्रता दिँदै कार्यतालिका निर्माणका लागि एक समिति गठन गरेको छ। शुक्रबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल सम्मिलित तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार यस समितिलाई आगामी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत कार्यतालिका बनाउने जिम्मेवारी दिइएको छ। बैठकले निर्वाचनका कारण यसअघि स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनहरूलाई समेत तत्काल निरन्तरता दिने निर्णय गरेको छ। राप्रपा अब पूर्ण रूपमा महाधिवेशनतर्फ केन्द्रित भएको अध्यक्ष लिङ्देनले स्पष्ट पारेका छन्।
यसैगरी, हालै सम्पन्न निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको छ। शुक्रबारको बैठकमा सातै प्रदेशबाट प्राप्त सांगठनिक सुझावहरूका विषयमा पनि छलफल भएको थियो। पार्टीले आफ्नो संगठन विस्तार र महाधिवेशनको पूर्वतयारीलाई अब सँगसँगै लैजाने योजना बनाएको छ।





