पाकिस्तानमा सैनिक चढेको रेलमा आत्मघाती बम विस्फोट: २४ जनाको मृत्यु, ७० घाइते

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सैनिकहरू सवार एक रेललाई निसाना बनाएर गरिएको भीषण आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ।

आइतबार बिहान भएको यस दर्दनाक घटनामा अन्य ७० जना घाइते भएका छन्। ज्यान गुमाउनेमा अधिकांश सैन्य अधिकारी र सैनिकहरू रहेका छन्।

बलोचिस्तानको राजधानी क्वेटास्थित ‘चमन फाटक’ स्टेसन हुँदै अगाडि बढ्ने क्रममा रेलमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर आत्मघाती विस्फोट गराइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। रेलमार्गका अधिकारीहरूका अनुसार विस्फोटको कडा धक्काका कारण रेलका तीनवटा डिब्बा र इन्जिन पटरीबाट बाहिरिएका थिए भने दुईवटा डिब्बा पूर्ण रूपमा पल्टिएका छन्।

उक्त रेलमा इदुल फित्र (ईद) मनाउन घर फर्किरहेका सैनिक र उनीहरूका परिवार सवार थिए। उनीहरू नजिकैको सैन्य शिविरबाट क्वेटाको मुख्य रेलवे स्टेसन जाँदै थिए, जहाँबाट पेशावर हुँदै आ–आफ्नो घर जाने उनीहरूको योजना थियो।

बलोचिस्तान सरकारले यस आक्रमणमा प्रतिबन्धित पृथक्तावादी समूह ‘बलोचिस्तान लिबरेशन आर्मी’ (बीएलए) को संलग्नता रहेको पुष्टि गरेको छ। बीएलएले पनि विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिइसकेको छ। यस सशस्त्र समूहले विगत दुई वर्षदेखि सोही क्षेत्रमा चल्ने ‘जफर एक्स्प्रेस’ रेललाई बारम्बार निसाना बनाउँदै आएको छ।

विस्फोट कति शक्तिशाली थियो भन्ने कुरा घटनास्थलका भिडिओ र तस्बिरहरूबाट प्रस्ट हुन्छ, जहाँ जलेका र क्षतिग्रस्त डिब्बाहरू यत्रतत्र छरिएका देखिन्छन्। विस्फोटको कडा कम्पनले आसपासका सर्वसाधारणका घरका झ्यालका सिसा समेत फुटेका थिए।

आक्रमणको लगत्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनाको घोर भर्त्सना गर्दै दोषीहरूलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइतेको सङ्ख्या धेरै भएकाले अस्पतालहरूमा आपत्कालीन अवस्था घोषणा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा