काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायुका साथै पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको संयुक्त प्रभाव रहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज २०८३ जेठ १७ गते आइतबार देशको मौसमी प्रणालीमा फेरबदल भई सातै प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको छ.
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ. लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ. वर्षाका साथै आज लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ.
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बदली रहनेछ. रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ.





