काठमाडौँ । मलेसियाको क्वाललम्पुरमा जारी एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनको भारी अन्तरले पराजित गर्दै सानदार जित दर्ता गरेको छ. नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा भुटान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रनमा मात्रै समेटियो.
क्वाललम्पुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो. नेपालका लागि सीता राना मगरले २८ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ३७ रनको योगदान दिइन्. त्यस्तै, रुविना क्षेत्रीले २४ रन, सोनी पख्रिनले १३ रन र ओपनर सम्झना कुमारीले १० रन जोडिन. भुटानका तर्फबाट सोनम र छिरिङ जाङ्मोले ३–३ विकेट लिएका थिए.
१ सय १४ रनको लक्ष्यसहित मैदान उत्रिएको भुटानका लागि ओपनर दिचेन वाङमोले ६० बलमा ३९ रन र चाडो ओमले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्. भुटानलाई सस्तैमा रोक्न नेपालकी पूर्व कप्तान रुविना क्षेत्रीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिइन्. रिया शर्माले २ विकेट तथा कविता कुँवर र मनिषा उपाध्यायले १–१ विकेट हात पारे. समूह ‘डी’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो; यसअघि नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो.





