एमालेको कार्यविभाजनमा गोकुल बास्कोटाको कडा प्रश्न: ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’

काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले पार्टीको पछिल्लो कार्यविभाजन र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नेता बास्कोटाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र कार्यकर्ताको भूमिकामाथि कडा प्रश्न उठाएका हुन्।

उनले व्यङ्ग्यात्मक शैलीमा आफूलाई खगोलशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान जस्ता विज्ञानका विषयदेखि अङ्कगणित, बीजगणित र इन्जिनियरिङको कुनै पनि ज्ञान नभएको उल्लेख गरेका छन्। तर, विधागत ज्ञान नभए पनि एमालेको हालैको कार्यविभाजन र ढाँचा हेर्दा यसले सैनिक सङ्गठनको झल्को दिएको भन्दै उनले संशय व्यक्त गरे। पार्टीको यो शैलीले कार्यकर्ता र तल्ला कमिटीको भूमिकालाई खुम्च्याएको उनको बुझाइ छ।

बास्कोटाले पार्टीभित्र सोच्ने र नीति निर्माण गर्ने काम कार्यकर्ताको नभई माथिको आदेश पालना गर्ने र लड्ने मात्र भएको हो भनी नेतृत्वलाई प्रश्न गरेका छन्। सोच्ने र विवेक प्रयोग गर्ने स्वतन्त्रता नदिई केवल सैनिक ढाँचामा आदेश मात्र तामेल गर्ने हो भने एमाले कसरी देशको पहिलो पार्टी बन्छ भन्दै उनले कृत्रिम बौद्धिकता (एआई) लाई समेत सोधेका छन्। पार्टीको आन्तरिक कार्यविभाजनलाई लिएर बास्कोटाले सार्वजनिक रूपमै व्यक्त गरेको यो असन्तुष्टिलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा