काठमाडौँ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। [मौसम पूर्वानुमान महाशाखाले](https://www.ratopati.com/story/568870) दिएको जानकारीअनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ।
आज जेठ २६ गते मङ्गलबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसैगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा लुम्बिनीको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एवं पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहे पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने ‘तातो दिन’ को असर रहनेछ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र मधेस प्रदेश एवं बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





