काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। सम्पत्ति विवरण र सेयर विवादमा प्रश्न उठेपछि गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङलाई छानबिन समितिको प्रतिवेदन बुझाइएलगत्तै पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिन लागिएको हो।
आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको थियो। पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले गत शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले क्लिन चिट दिएसँगै प्रधानमन्त्रीले उनलाई पुरानै मन्त्रालयमा फर्काउने निर्णय गरेका हुन्।
यसका साथै प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन्। सिफारिस गरिएका दुवै मन्त्रीहरूले आजै दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।





