कांग्रेस महामन्त्री गगन थापाको निर्देशन: ‘पार्टीको ८–९ लाख सदस्यको सञ्जाललाई विपद् व्यवस्थापनमा परिचालन गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा बोल्दै पार्टी महामन्त्री गगनकुमार थापाले यस्तो निर्देशन दिएका हुन्।

महामन्त्री थापाका अनुसार स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने आधारभूत कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई प्रमुख सूचीमा राख्दै पार्टीले विशेष मार्गनिर्देशन समेत तयार पारेको छ। कांग्रेसले आफ्नो सम्पूर्ण साङ्गठनिक शक्तिलाई केवल राजनीतिक जोडघटाउमा मात्र सीमित नराखेर सामाजिक उत्तरदायित्व र नागरिकको जिउधनको रक्षाका लागि केन्द्रित गर्ने नीति लिएको उनले स्पष्ट पारे।

पार्टीको साङ्गठनिक सुदृढीकरण र नयाँ सदस्यता विवरणबारे चर्चा गर्दै थापाले यसपटक कांग्रेसमा करिब साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता भइसकेको र सम्पूर्ण प्रक्रिया पूरा हुँदा यो सङ्ख्या ८ लाखदेखि ९ लाखसम्म पुग्ने जानकारी दिए। “नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र नभएर मुलुककै सबैभन्दा ठुलो सामाजिक संस्था पनि हो,” थापाले भने, “हामीले यो विशाल सञ्जाललाई ‘विपद् जोखिम न्यूनीकरण र सचेतना अभियान’ मा परिचालन गर्‍यौँ भने एकै पटक लाखौँ नागरिकलाई सचेत बनाउन सक्छौँ।” उनले जनप्रतिनिधिहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा विपद् व्यवस्थापनका काममा जुट्न निर्देशनसमेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा