काठमाडौँ । नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिने उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र आठौँ संयुक्त कार्य समूहको सहभागिता रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
बैठकका क्रममा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर–बिजुलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोड गेज रेलमार्गको हालसम्मको प्रगतिका बारेमा विस्तृत समीक्षा गरिएको थियो। यसका साथै दुवै पक्षबिच जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन प्रक्रियाको मस्यौदामाथि समेत महत्त्वपूर्ण छलफल भएको छ।
बैठकले रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनका विषयमा पनि विमर्श गरेको छ। नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि आवश्यक प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने अन्य सम्भावित रेल लिङ्कहरूबारे दुई देशबिच सहमति जुटेको छ। दुवै देशका प्रतिनिधिहरूले रेल सेवाको क्षेत्रमा भइरहेको यो सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने निर्णय गरेका छन्।





