काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (SEBON) को रिक्त अध्यक्ष पदमा डा. गोपाल भट्टलाई नियुक्त गरेको छ. गत वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्डको नेतृत्व तह रिक्त रहेको थियो. शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी २०८५ मंसिर ९ गतेसम्मका लागि अध्यक्ष चयन गर्ने निर्णय गरेको हो.
नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बैंकिङ एवं पुँजी बजारका विज्ञ हुन्. कैलाली स्थायी घर भएका उनले नेपालको पुँजी बजारको प्रभावकारिता विषयमा विद्यावारिधि (पीएचडी) समेत गरेका छन्. राष्ट्र बैंकबाट अवकाश पाएपछि उनले नेपाल एसबीआई बैंकको सञ्चालकका रूपमा समेत काम गरिसकेका छन्.
अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित समितिले गोपाल भट्ट, डा. नवराज अधिकारी, विनयदेव आचार्य र मुकुन्द क्षेत्रीको नाम सर्टलिस्ट गरेको थियो. तीमध्ये अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएकोमा सरकारले भट्टलाई जिम्मेवारी सुम्पिएको हो. नवनियुक्त अध्यक्ष भट्टसामु धितोपत्र बोर्डमा लामो समयदेखि पाइपलाइनमा रोकिएको ९० अर्ब रुपैयाँभन्दा बढीको आईपीओ (IPO) स्वीकृति प्रक्रिया अगाडि बढाउने र पुँजी बजारलाई प्रविधिमैत्री एवं पारदर्शी बनाउने मुख्य चुनौतीहरू रहेका छन्.





