काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशमा आंशिक बादल लाग्ने भए तापनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
मौसमविद्हरूका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। यसैबिच, पश्चिम नेपालमा गर्मीको प्रकोप कायमै रहने देखिन्छ; लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो दिन हुने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशीको तराई क्षेत्रमा साधारणतया बादल लागिरहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली एवं पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसका साथै कोशीको तराईका थोरै स्थान र मधेशको तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।




